साउन ९, बंगलादेश । हिउँले ढाकिएको हिमालको दृश्य होस् वा कञ्चनपुरको दोधारा–चाँदनी पुलबाट देखिने सूर्यास्तको । प्रकृतिको सौन्दर्यमा रमाउने जोकोहीलाई पनि यस्ता दृश्यले लालयित बनाउँछ ।
बंगलादेशको राजधानी ढाकामा सोमवार आयोजना गरिएको फोटो प्रदर्शनीमा पनि यस्तै दृश्य देखियो । ‘अमेजिङ नेपाल’ नाम दिइएको प्रदर्शनीमा सहभागीहरू नेपालको सौन्दर्यमा मोहित मात्रै भएनन्, फोटोबारे जान्न उत्सुक पनि देखिन्थे ।
राष्ट्रिय फोटो पत्रकार समूह, नेपालले बंगलादेश फोटो जर्नालिष्ट एशोसिएशनसँगको समन्वयमा नेपालका विभिन्न ठाउँमा कैद गरिएका तस्वीरहरूको प्रदर्शनी गरिएको थियो, जसमा विश्वको सर्वोच्च शिखर सगरमाथादेखि बुद्ध जन्मस्थल लुम्बिनीसम्मका तस्वीरहरू राखिएका थिए ।
प्रदर्शनीमा राखिएका तस्वीरबारे सहभागीलाई जानकारी दिँदै थिए, समूहका अध्यक्ष प्रदीपराज वन्त र कोषाध्यक्ष सागर श्रेष्ठ । उनीहरूले प्रदर्शनीमा सहभागी बंगलादेशीलाई नेपाल घुम्न पनि आह्वान गरेका छन् ।
नेपालका फोटो पत्रकारहरूको संगठन एनएफपीजीका सदस्यहरूले पेश गरेका २०० तस्बिरहरूमध्ये प्रदर्शनीका लागि २२ तस्वीरहरू छानिएका थिए ।
कार्यक्रममा बंंगलादेश फोटो जर्नालिष्ट एशोसिएशन, ढाकाका अध्यक्ष सोहेल हैदर, सचिव अख्तर अहमद तथा संस्थापक सदस्य वरिष्ठ पत्रकार काजी रौनक हुसेन लगायतका पत्रकारहरूको सहभागिता थियो ।
प्रदर्शनीको उद्घाटनमा रोयटर्सका फोटो पत्रकार रफिकुर रहमान, कार्यवाहक अध्यक्ष नसिम सिकदर, कार्यवाहक महासचिव जीवन आमिर, वरिष्ठ फोटो पत्रकार काजी रौनक, ढाका पत्रकार युनियनका अध्यक्ष सोहेल हैदर चौधरी, महासचिव अक्तार हुसेनलगायतको उपस्थिति थियो । बंगलादेशमा नेपाललाई चिनाउन प्रदर्शनी आयोजना गरिएको समूहका अध्यक्ष वन्तले बताए ।