हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मानबाट फोटो पत्रकारहरू सम्मानित

Dec 21, 2025

काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) ले हरिगोपाल प्रधानको नाममा स्थापित ‘हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मान’ को पुरस्कार वितरण गरिएको छ। आइतबार ललितकला प्रज्ञा–प्रतिष्ठान, नक्सालस्थित सभा हलमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको २८ औँ साधारण सभाको अवसरमा प्रधानको नामबाट स्थापित ५ विधाको उक्त सम्मान प्रदान गरिएको हो।

‘साहसिक फोटो पत्रकारिता सम्मान’ नबिनबाबु गुरुङ, ‘पर्यावरण–पर्यटन फोटो पत्रकारिता सम्मान’ उद्धव श्रेष्ठ, ‘मनोरञ्जन फोटो पत्रकारिता सम्मान’ सुबास मुखिया सुनुवार, ‘सांस्कृतिक फोटो पत्रकारिता सम्मान’ चन्द्रकला क्षेत्री तथा ‘खेलकुद फोटो पत्रकारिता सम्मान’ शंकर भुजेललाई प्रदान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, हरिगोपाल प्रधान र राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तको हातबाट उहाँहरूलाई सम्मान-पत्र प्रदान गरिएको थियो।

त्यस्तै पूर्व सशस्त्र प्रहरी नायब महानिरीक्षक माधव थापाले स्थापना गर्नुभएको ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता सम्मान ’ यस वर्ष फोटो पत्रकार प्रविन कुलुङ राईलाई प्रदान गरिएको छ । उनलाई नगद १० हजारसहित सम्मान-पत्र प्रदान गरिएको थियो।

तयस्तै ‘संस्थागत एनएफपिजे प्रेसिडेन्ट अवार्ड–२०८२’ संस्थाका उपाध्यक्ष सुनिल शर्मालाई प्रदान गरिएको थियो।

कार्यक्रममा संस्थाका पूर्वअध्यक्षहरू कविन्द्रमान शाक्य, राजभाई सुवाल, राजेन्द्र चित्रकार, केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तसहित केन्द्रीय पदाधिकारी, आजीवन सदस्य तथा अन्य सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।