काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालले विभिन्न सञ्चारमाध्यमममा कार्यरत ४५ जना पत्रकार महिलाहरू तीन दिने फोटो पत्रकारिता तालिम दिएको छ ।
हाम्रो संस्था (एनएफपीजे) नेपालको सहकार्य र सञ्चारिका समूह नेपालको संयोजनमा तीन दिनसम्म चलेको तालिम नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीद्वारा संयुक्त रूपमा सञ्चालित जीविकोपार्जनको पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) ले आयोजना गरेको हो।
दुई दिन फोटो पत्रकारिताको शैद्धान्तिक विषय र क्यामेराको संचालन लगायतका बारेमा प्रशिक्षण दिएको थियो भने आज तालिमको अन्तिम दिन प्रयोगात्मकका लागि प्रशिक्षार्थी सबैलाई सम्पदा घुम्ती बसमा काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदाहरूको भ्रमण गराइएको थियो। उनीहरूले सम्पदा भ्रमणका क्रममा खिचेका उत्कृष्ट तीन फोटोलाई राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालले पुरस्कृत गर्ने घोषणा गरेको छ।
काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रहरुको प्रवद्धृन गर्ने उद्धेश्यले गत हप्तादेखि काठमाण्डौमा सम्पदा घुम्ती बस सेवा शुरु गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले साझा यातायात, ललितपुरको सहकार्यमा विश्व सम्पदा सुचिमा सुचिकृत सम्पदाहरु– पाटन दरबार स्क्वायर, काठमाण्डौं दरबार स्क्वायर, नारायणहिटी दरबार संग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भुसम्म सहज पहुँच हुने “सम्पदा घुम्ती बस सेवा संचालनमा रहेको छ ।
नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट टी.पी. भुसालले तालिमबाट फोटो पत्रकारितामा मै केहि गर्छु भनेर लाग्नेलाई पत्रकार महिलाहरूका धेरै नै सघाउ पुर्याउने बताए। ‘तालिमको लागि जुन समय तोकिएको थियो त्यो भन्दा पनि धेरै समय बसेर प्रशिक्षार्थीहरुले तालिम लिए, तालिम प्रतिको रुचि देखेर हामीले तालिमका लागि सहि विषय छनोट गरेछौं भन्ने लागेको छ,’ भुसालले भने।
त्यस्तै प्रशिक्षार्थीहरुले पनि तालिम निक्कै नै उपलब्धिमूलक भएको बताए । उनीहरुले यस्ता खालको तालिमले फिल्डमा खटिने पत्रकारका लागि उपयोगी हुने बताए। ‘आगामी दिनमा तालिम अझै हप्ता दश दिनको राख्दिए हामी पत्रकारले अझै धेरै सिक्ने मौका पाउने थियौ। ‘ सहभागीहरूले भने।
तीन दिनसम्म आयोजना गरिएको तालिममा फोटो पत्रकारहरु राजन काफ्ले, सुनिल शर्मा र सुशील श्रेष्ठ लगायतले प्रशिक्षण दिएका थिए भने वरिष्ठ फोटो पत्रकार मीन बज्राचार्यले फोटो पत्रकारिताको अनुभव र नयाँ आयामबारे आफ्ना अनुभव साटेका थिए ।