राष्ट्रिय फोटो पत्रकार समूहले दियो थप ६८ जना पत्रकारलाई फोटो पत्रकारिता प्रशिक्षण

Jul 20, 2023

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालले थप ६८ जना पत्रकारहरुलाई फोटो पत्रकारिता प्रशिक्षण दिएको छ।   नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीद्वारा संयुक्त रुपमा सञ्चालित परियोजना जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी)को आयोजना, राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको सहकार्यमा उक्त प्रशिक्षण दिएको हो  ।

मंगलबारदेखि तीन दिनसम्म चलेको तालिममा फोटो पत्रकारिताका सैद्धान्तिक र व्यावहारिक विषयवस्तुको संयोजनसहित नेपालको पर्यटन तथा पर्यटन पत्रकारिताको बारेमा समेत प्रशिक्षण दिएको थियो । यस अघि ४५ जना पत्रकार महिलाहरू पनि तीन दिने फोटो पत्रकारिता तालिम दिएको थियो ।

एनएफपीजेको तर्फबाट प्रशिक्षक किशोर श्रेष्ठले पहिलो दिन क्यामेराको सैद्धान्तिक (थेउकरिकल) बारेमा सम्पूर्ण जानकारी गराएका थिए भने प्रशिक्षणको दोस्रो दिन अर्थात् भृकुटीमण्डपबाट काठमाडौंको बसन्तपुर दरबार स्क्वायरसम्म प्रशिक्षार्थीहरुसँग प्रत्यक्ष रुपमा संलग्न भई फोटो खिचाएर व्यवहिरक (प्रक्टिकल) रुपमा प्रशिक्षण गराएका थिए ।

समापन कार्यक्रममा बोल्दै आयोजक युएनडिपीका धर्मा दवाडीले कार्यक्रमलाई सम्बोधन गर्दै यस्ता कार्यक्रम गर्न पाउदा आफूलाई धेरै खुशी लागेको बताए । दवाडीले निरन्तर रुपमा तीनदिनसम्म तपाईहरुको सहभागीता देखेर हामीलाई यस्ता कार्यक्रम गर्न उत्साहित भएको बताए ।

नेपाल पर्यटन बोर्डका म्यानेजर शुनिल शर्माले फोटो पत्रकारिताको अनुभव सुनाउदै आउँदा दिनमा नेपाल पर्यटन वोर्डले गर्ने हरेक कार्यक्रमहरुलाई फोटो पत्रकारिताको माध्यबाट देशलाई चिनाउन सकिने र दुर्गम क्षेत्रको फोटोलाई राम्ररी प्रस्तुत गर्न सकियो भने धेरै प्रगति गर्न सकिने बताए ।

प्रशिक्षणमा सहभागी प्रशिक्षर्थीहरुले आ–आफ्ना अनुभव सुनाउदै क्यामेरा बोकेर फोटो वर्षौदेखि खिच्दै आएको तर फोटोको बारेमा र लाइट कसरी मिलाउने अँध्यारोमा कसरी फोटो खिच्ने जस्ता समस्याले ग्रसित भएका थियौ तर यो तीन दिने प्रशिक्षणका क्रममा सोचेको जस्तो फोटो खिच्न सक्ने भयौ भन्दै आयोजक टिमलाई धन्यवाद दिएका थिए ।