सिविन–नेपालसंगको सहकार्यमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालको फोटो प्रदर्शनी

Aug 20, 2023

काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे)ले सिविन–नेपालसंगको सहकार्यमा ‘बालबालिका राष्ट्रिय गौरव हुन्, तस्वीरमा बालबालिका’ फोटो प्रदर्शनी आयोजना गरेको छ । शनिबार काठमाडौंको हनुमानढोका परिसरमा १८४ औं फोटोग्राफी दिवसको अवसरमा कार्यक्रम आयोजना गरेको हो।

प्रदर्शनीमा २५ जनाफोटो पत्रकारका बालअधिकारको संरक्षण र प्रवद्र्धनमा समाजमा आएको सकारात्मक परिवर्तनलाई चित्रण गर्ने प्रकारका बालबालिका सम्बन्धी ६० वटा तस्वीरहरु राखिएको कार्यक्रम संयोजक तथा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालका कार्यवाहक महासचिव घनश्याम श्रेष्ठले जानकारी दिए ।

उनले भने, ”प्रदर्शनीमा हिमाल, पहाड, तराईका बालबालिकाहरुको रहनसहन, दैनिक जीवन शैली पढाइ लगायतका फोटो समेटेर राखेका छौं । यसभन्दा अगाडि पर्यटन सम्बन्धी यस्तो कार्यक्रमहरु गर्दै आएका थियौ ।”

बालबालिकाहरुमा खुशीयाली ल्याउन सो प्रर्दशनी आयोजना गरिएको एनएफपीजेका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए। ‘१८४ औं विश्व फोटोग्राफी दिवसको असरमा हामीले शनिवार हनुमानढोकाको डबलीमा सिविन नेपालको सहयोगमा ह्याप्पी बालबालिका, जो राष्ट्रिय गौरव हुन भन्ने नाराका साथ फोटो एक्जीविशन गरेका छौं,’ वन्तले भने, ‘ बालबालिकाहरू गुम्न आउने, खेल्न आउने भएको यो ठाउँमा विभिन्न जिल्लाका बालबालिकाहरुको क्रियाकलापहरू समेटिएको फोटो प्रर्दशन गरिएको हो। बालबालिकाहरूमा खुशीयाली ल्याउन पनि यो प्रर्दशनी आयोजना गरिएको हो।’

बालअधिकार अभियन्ता तथा सिविन नेपालका संस्थापक अध्यक्ष गौरी प्रधानले आजको फोटो प्रदर्शनी बालबालिकामा केन्द्रित रहेको भन्दै फोटोहरु देशको वर्तमान अवस्थाको प्रतिविम्ब पनि भएको बताए।

उनले भने,‘‘एउटा जीवित फोटोले धेरै कुराहरु बोल्छ जुन कुराहरु किताबमा लामो लामो व्याख्या हुन्छ त्यसलाई फोटोले देखाउँने गर्दछ । बालबालिकामा केन्द्रित रहेको छ आजको यो प्रदर्शनी देशको एउटा प्रतिविम्ब पनि हो ।”

कार्यक्रममा बालबालिकाको संरक्षणका लागि खडा गरिएको संयन्त्र बाल हेल्पलाइन नेपाल १०९८ बारे जानकारी फैलाउने उद्देश्यले बाल हेल्पलाइन मोबाइल बुथ पनि प्रदर्शनमा राखिएको थियो।

एनएफपीजेले आफ्नो स्थापनाको २५ वर्ष पुगेको अवसर पारेर खेल, मनोरञ्जन र काममा खुशीका साथ सहभागी भएका बालबालिकाहरूलाई थप उत्साही बनाउने उद्देश्यका साथ सो प्रदर्शनी गरिएको जनाएको छ।