राष्ट्रिय फोटो पत्रकार समूह एनएफपीजेले २०औं वार्षिकाेत्सवका अवसरमा आगामी २०७४ साल वैशाख १३ गते राजधानीमा फोटो कन्सर्न राष्ट्रिय फोटो पत्रकारिता अवार्ड-२०७३ आयोजना गर्ने भएको छ।
हरेक वर्षको वैशाख १३ मा मनाइने राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसर पारेर गर्न लागिएको उक्त अवार्ड कार्यक्रममा पत्रकारिताका क्षेत्रमा सक्रिय फोटो पत्रकारहरुलाई विभिन्न विधाबाट सम्मानित गरिने एनएफपीजेले जनाएको छ।
अवार्ड वितरणका विषयमा नेपालकै सबैभन्दा पूरानो फोटो स्टुडियो फोटो कन्सर्न र एनएफपीजेबीच मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा सम्झौता भएको छ। अवार्ड कार्यक्रमको मुख्य प्रायोजकको रुपमा फोटो कन्सर्न रहने भएको छ।
उक्त अवार्ड कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा सक्रिय फोटो पत्रकाहरुलाई फरक-फरक विधामा पुरस्कृत गरिने बताइएको छ। अवार्ड कार्यक्रमा ‘डिवि थापा फोटो पत्रकारिता लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट एक जना फोटो पत्रकारलाई पुरस्कृत गरिने छ।
पुरस्कारको राशी ५० हजार नगद, ट्रफी र सम्मानपत्र रहने अवार्ड कार्यक्रमका संयोजक तथा एनएफपीजेका सचिव प्रदीपराज वन्तले जानकारी दिए। कार्यक्रममा वर्षको उत्कृष्ट फोटो पत्रकारिता अवार्ड, टुरिजम एन्ड कल्चरल फोटो पत्रकारिता अवार्ड दिइने छ।
स्पोर्टस् फोटो पत्रकारिता अवार्ड, डेली लाइफ फोटो पत्रकारिता अवार्ड, एड्भेन्चर फोटो पत्रकारिता अवार्ड, महिला फोटो पत्रकारिता अवार्ड, राजनीतिक फोटो पत्रकारिता अवार्ड, स्वतन्त्र फोटो पत्रकारिता अवार्ड, अनलाइन फोटो पत्रकारिता अवार्ड, मोफसल फोटो पत्रकारिता अवार्ड र आर्थिक फोटो पत्रकारिता अवार्डबाट एक-एक जना फोटो पत्रकारलाई सम्मानित गरिने छ।
यसरी सम्मानित हुने फोटो पत्रकारलाई जनही २५-२५ हजार रूपैयाँ, सम्मानपत्र र ट्रफी प्रदान गरिने संयोजक वन्तले जानकारी दिए। पुरस्कार प्राप्त गर्नका लागि दैनिक, साप्ताहिक, पाक्षिक, मासिक पत्रिका, समाचार अनलाइनमा कार्यरत फोटो पत्रकारहरुले खुल्ला रुपमा एनएफपीजेको कार्यालयमा आवेदन दिन सकिने छ।