काठमाडौँ – भुटान पत्रकार संघ (Journalists’ Association of Bhutan – JAB) का बोर्ड निर्देशक साङ्गे राब्तेन र राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) बीच विशेष भेटवार्ता सम्पन्न भएको छ।
नेपाल भ्रमणमा रहेका रब्तेनसँग एनएफपिजेका उपाध्यक्ष सुनिल शर्मा, महासचिव घनश्याम श्रेष्ठ, र केन्द्रीय सदस्य सुशील कुमार श्रेष्ठले भेट गरेका हुन्। उक्त भेटमा नेपाल र भुटानका पत्रकारिता क्षेत्रको सहकार्य, फोटो पत्रकारिताको विकास र द्विपक्षीय सम्बन्ध मजबुत बनाउने विषयमा छलफल भएको थियो।
साङ्गे रब्तेनले भुटानको पत्रकारिता वातावरण, चुनौतिहरू, र अवसरहरूबारे जानकारी गराउनुका साथै भविष्यमा नेपाल-भुटान फोटो पत्रकारहरूबीच सहकार्य र अनुभव आदान-प्रदान गर्दै अघि बढ्ने पनि बताउनु भयो ।
यसै अवसरमा राष्ट्रिय फोटो पत्रकार समूहले आगामी वैशाखमा आयोजना गर्न लागेको ‘फोटो पत्रकारिता अवार्ड’ का विषयमा पनि राब्तेनलाई जानकारी गराइएको थियो। सो अवार्ड कार्यक्रममा नेपालसहित विभिन्न छिमेकी देशका फोटो पत्रकारहरूलाई पनि निमन्त्रणा गरिने योजना रहेको छ।