तीनकुने घटनाप्रति राष्ट्रिय फोटो पत्रकार समूहको गम्भीर चिन्ता, निष्पक्ष छानबिनको माग

Mar 29, 2025

काठमाडौँ, १६ चैत्र  – काठमाडौँको तीनकुने लगायतका क्षेत्रमा राजतन्त्र पुनःस्थापनाको माग गर्दै भएको आन्दोलनका क्रममा एभिन्युज टेलिभिजनका क्यामेरापर्सन सुरेश रजकको निधन तथा सञ्चारगृहहरूमा आक्रमण भएको घटनाप्रति राष्ट्रिय फोटो पत्रकार समूह, नेपालले गम्भीर चिन्ता व्यक्त गरेको छ।

समूहले एक विज्ञप्ति जारी गर्दै पत्रकार र सञ्चार माध्यममाथि भइरहेका आक्रमण लोकतान्त्रिक मूल्य र मान्यताविपरीत भएको उल्लेख गरेको छ। आन्दोलनको भिडियो खिचिरहेका बेला तीनकुनेस्थित एक घरमा आन्दोलनकारीहरूले आगजनी गरेपछि सञ्चारकर्मी सुरेश रजकको निधन भएको घटनाले प्रेस स्वतन्त्रता, पत्रकारहरूको सुरक्षा तथा राज्यको शान्ति सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको समूहको भनाइ छ।

समूहका महासचिव घनश्याम श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानूनी कारबाही गर्न सरकार र सम्बन्धित सुरक्षा निकायसमक्ष माग गरिएको छ। साथै, पत्रकारहरूको पेशागत सुरक्षाका लागि आवश्यक सबै उपायहरू अवलम्बन गर्न जोडदार अपिल गरिएको छ।

राष्ट्रिय फोटो पत्रकार समूह, नेपालले दिवंगत पत्रकार सुरेश रजकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। साथै, सम्पूर्ण फोटो तथा पत्रकारहरूलाई सचेत रहन, एकजुट भएर प्रेस स्वतन्त्रताको रक्षा गर्न तथा यस्तो अमानवीय घटनाको विरोध गर्न आह्वान गरिएको छ।