नयाँ बानेश्वरमा फोटो पत्रकारमाथि भएको गोली प्रहारप्रति राष्ट्रिय फोटो पत्रकार समूहको भर्त्सना

Sep 08, 2025

काठमाडौं — नयाँ बानेश्वरमा आज जेनजी समूहको प्रदर्शनको रिपोर्टिङका क्रममा फोटो पत्रकारहरूमाथि प्रहरीले गोली प्रहारबाट घाइते भएको घटनाप्रति राष्ट्रिय फोटो पत्रकार समूह, नेपालले कडा आपत्ति जनाएको छ।

सो घटनामा नयाँ पत्रिका दैनिकका फोटो पत्रकार दिपेन्द्र ढुंगाना, नेपाल प्रेसका फोटो पत्रकार उमेश कार्की र कान्तिपुर टेलिभिजनका भिडियो पत्रकार श्याम श्रेष्ठसहितका पत्रकारहरू गम्भीर घाइते भएको समूहले जनाएको छ।

समूहका महासचिव घनश्याम श्रेष्ठद्वारा जारी विज्ञप्तिमा प्रेस स्वतन्त्रता र सञ्चारको हकलाई प्रहरीले तिलाञ्जली दिएको भन्दै घटनाको भर्त्सना गरिएको छ। “रिपोर्टिङका क्रममा फोटो पत्रकारको टाउको र छातीमा गोली लाग्नु नांगो हस्तक्षेप हो, जुन कदापि स्वीकार्य छैन,” विज्ञप्तिमा उल्लेख छ।

समूहले पछिल्ला घटनाले लोकतान्त्रिक मूल्य र मान्यतामाथि गम्भीर प्रश्न उठाएको बताउँदै घाइते फोटो पत्रकारहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, उनीहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ।

युवा पुस्ताले उठाएको जायज मागलाई सम्बोधन गर्न, सामाजिक सञ्जाललगायत समाचारका स्रोतलाई व्यवस्थित प्रयोग गर्ने वातावरण बनाउन र पत्रकारलाई निर्भयका साथ पेशा गर्न सक्ने अवस्था सुनिश्चित गर्नुपर्ने समूहको भनाइ छ।

विज्ञप्तिमा घटनामा ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गर्दै सरकारले निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने र फोटो पत्रकारहरूको पेशागत सुरक्षाका लागि आवश्यक सबै उपायहरू अवलम्बन गर्नुपर्ने माग गरिएको छ।