एनएफपिजेले मनायो ९९औँ राष्ट्रिय फोटोपत्रकारिता दिवस, अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा

Apr 26, 2026

काठमाडौ –  राष्ट्रिय फोटोपत्रकार समूह नेपालद्वारा आयोजना गरिएको ९९औँ राष्ट्रिय फोटोपत्रकारिता दिवस २०८३ को विविध कार्यक्रमहरू आयोजना गर्दै सम्पन्न गरेको छ । दिवसका अवसरमा संस्थाले प्रकाशन गरेको वार्षिक फोटो क्यालेन्डर विमोचन गरिएको थियो । साथै “पर्यटन प्रवद्र्धनमा फोटोपत्रकारको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको थियो । कार्यक्रममा संस्थाका आजीवन सदस्य तथा वन्यजन्तु फोटोग्राफर स्व. चुङ्वा सेर्पाको स्मृतिमा ३ लाख रुपैयाँ राशिको पुरस्कारको अक्षयकोष पनि स्थापना गरिएको छ ।

प्रमुख अतिथि सूचना तथा प्रसारण विभागका महानिर्देशक छविन्द्र पराजुलीले आगामी दिनमा फोटोपत्रकारहरूसँग सहकार्य गर्दै नेपालको फोटो बैंक स्थापना गरिने र यसले फोटोपत्रकारहरूको रोजगारीमा सहयोग पुग्ने साथै पर्यटनको लागि प्रचारप्रसारको माध्ययमनै फोटो भिडियो भएको बताउनुभयो । विशिष्ट अतिथि प्रेस काउन्सिल नेपालका सहप्रवक्ता रामसरण बोहराले फोटो कपीराइटको विषयमा बोल्दै फोटोपत्रकारका सिर्जनाहरू अनुमति बिना प्रयोग हुने गुनासो प्रेस काउन्सिलमा आउने गरेको उल्लेख गर्नुभयो । काठमाडौं फोटोग्राफर संघका अध्यक्ष आनन्द प्रभाकर घिमिरेले दुई संस्थाबीच भाइचारा सम्बन्ध विस्तार गर्दै सहकार्यमा काम गर्नुपर्नेमा जोड दिनुभयो । पूर्व अध्यक्ष राजभाइ सुवालले एआईको युगअनुसार प्रविधिमैत्री सीप विकासमा ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

संस्थाका अध्यक्ष प्रदीपराज वन्तले फोटोपत्रकारहरू राज्य तथा सञ्चारगृहबाट समेत पीडित भएको उल्लेख गर्दै जीवन बीमा, स्वास्थ्य बीमा तथा क्यामेरा इन्सुरेन्सको अभावका कारण जोखिम बढी हुने बताउनुभयो । साथै उहाँले अन्तर्राष्ट्रिय स्तरमा सहकार्य विस्तार तथा नेपालको पर्यटन प्रवद्र्धनका लागि विभिन्न देशका १०० जना फोटोपत्रकार तथा फोटोग्राफरलाई सहभागी गराई अन्तर्राष्ट्रिय फोटो सम्मेलन आयोजना गरिने घोषणा गर्नुभयो ।