चितवन १२ कात्तिक २०७४
चितवनको माडी नगरपालिका वडा नम्बर ९ कुसुम खोलाका बाढी पीडितलाई राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)चितवन शाखा र भरतपुरको पञ्चशील तमु समाज सुधार समितिको संयुक्त आयोजनामा राहत वितरण गरिएको हो । माडीका बाढीपीडितलाई भरतपुरमा राहत सामग्री उपलब्ध गराइएको छ ।
भरतपुरमा आयोजना गरिएको राहत वितरण कार्यक्रममा माडीका आठ परिवार बाढी पीडितलाई तमु समाजले प्रति परिवार १० हजार रुपैयाँको दरले र एनएफपीजे चितवन शाखाले लत्ता कपडा राहत स्वरुप प्रदान गरेका हुन् । कार्यक्रममा बोल्दै एनएफपीजे चितवन शाखाका संयोजक कोमलचन्द्र भगतले केन्द्रबाट संकलन भएर आएको राहत सामग्री माडीका बाढी पीडितलाई वितरण गरिएको बताउनुभयो ।
राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) चितवन शाखाका संयोजक कोमलचन्द्र भगत वाढी पिडितलाई कपडा हस्तान्तरण गर्दै । फोटो: एनएफपीजे
राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) चितवन शाखाका पदाधिकारीहरु कपडा हस्तान्तरण कार्यक्रममा सहभागि हुदैं । फोटो: एनएफपीजे
गत साउन २८ र २९ गते पुर्वी तराई देखि पश्चिमसम्म बाढी आएपछि प्रभावित भएकाहरुलाई वितरण गर्नको लागि एनएफपीजे केन्द्रले काठमाडौंमा संकलन गरेको लत्ता एनएफपीजे चितवन शाखालाई प्रदान गरेको थियो । कार्यक्रममा पञ्चशील तमु समाज सुधार समितिका अध्यक्ष रथप्रसाद गुरुङले माडीबाट भरतपुर आएर बसोबास गरिरहेका व्यक्तिहरुले रकम संकलन गरेर माडीका बाढीपीडितलाई आर्थिक सहयोग गरेको बताउनुभयो ।