आज ९८ औं राष्ट्रिय फोटोपत्रकारिता दिवस, एनएफपिजेले अवार्ड कार्यक्रम गर्दै

Apr 26, 2025

काठमाडौं, वैशाख १३ – आज ९८ औं राष्ट्रिय फोटोपत्रकारिता दिवस, देशभर विविध कार्यक्रमहरू गरी दिवस मनाइदै छ। वि.सं. १९८४ बैशाख १३ गते गोरखापत्रमा पहिलोपटक समाचारमूलक फोटो छापिएको ऐतिहासिक दिनको स्मरण स्वरूप यो दिवस मनाउदै आएको हो।

दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे), नेपालले सम्पूर्ण फोटो पत्रकार, मिडिया क्षेत्रका श्रमजीवीहरू, सरोकारवाला निकाय तथा शुभेच्छुकहरूलाई शुभकामना ज्ञापन गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ।

एनएफपिजेका महासचिव घनश्याम श्रेष्ठद्वारा जारी विज्ञप्तिमा विगतका योगदानकर्ताप्रति सम्मान, वर्तमानमा क्रियाशील फोटो पत्रकारहरूका लागि एकता, सुरक्षा र पेशागत मर्यादाको माग तथा आगामी दिनमा अझ सुरक्षित वातावरणको निर्माणप्रति प्रतिबद्धता व्यक्त गरिएको छ।

यसै अवसरमा समूहले “पाँचौं राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२५” आयोजना गर्ने लागेको छ । आज ललितपुरमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा आठ विधामा पुरस्कार वितरण गरिनेछ। साथै, सातै प्रदेशबाट एक–एक जना उत्कृष्ट फोटो पत्रकारलाई समेत सम्मान गरिनेछ।

संस्थाले सरकार, सञ्चारगृहहरूसँग फोटो पत्रकारहरूको श्रमको सम्मान, अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता र कार्यस्थलमा सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह समेत गरेको छ।