वरिष्ठ फोटो पत्रकार देवेन्द्रमान सिंहलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मान 

Apr 29, 2025

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” मा वरिष्ठ फोटो पत्रकार देवेन्द्रमान सिंहलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मान गरिएको छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सभामुख देवराज घिमिरे र विशेष अतिथि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काको उपस्थितिमा नेपाली फोटो पत्रकारितामा महत्त्वपूर्ण योगदान पु¥याउनुभएको भन्दै नगद २५ हजार रुपैयाँसहित उक्त अवार्ड प्रदान गरिएको हो।

२०१० सालमा काठमाडौंमा जन्मिनुभएका सिंहले झण्डै तीन दशक फोटो पत्रकारिता गर्नुभयो । फ्रान्सको समाचार एजेन्सी एएफपीका लागि मात्र उहाँले २७ वर्ष फोटो खिच्नुभयो । उहाँले बीबीसीमा पनि अनुभव सँगाल्नुभएको थियो । संसारका प्रतिष्ठित अखबार र म्यागजिनहरूमार्फत देवेन्द्रमानले नेपाल र यहाँ भएका सामाजिक, राजनीतिक घटनाहरू संसारलाई देखाउनुभयो । उहाँले खिचेका तस्वीरहरू इन्टरनेसनल हेराल्ड ट्रिब्युनदेखि वासिङ्टन पोस्ट, न्युज विक, सन्डे टाइम्सलगायत विश्वका थुप्रै चर्चित पत्रिकाका प्रथम पृष्ठमा अँटाए । नेपालमा पनि उहाँले खिचेका तस्वीरहरू कान्तिपुर, नेपाल समाचारपत्रलगायत पत्रिकामा छापिएका छन् ।

देवेन्द्रमानले २०४६ सालमा प्रजातन्त्रखातिर भएको आन्दोलनदेखि माओवादी सशस्त्र युद्धकालहुँदै २०६२÷०६३ को जनआन्दोलनसम्मका फोटो एएफपीमार्फत संसारलाई देखाएका छन् । आफूले खिचेका तस्वीरहरूलाई समेटेर २०६४ सालमा उहाँले सेकेन्ड पिपुल्स मुभमेन्ट अगेन्स्ट अटोक्रेटिक मोनार्की नामक फोटो पुस्तक पनि छपाउनुभएको छ । फोटो पत्रकारिता गरेर देवेन्द्रमानले नाम र दाम राम्रै कमाउनुभयो ।

कांग्रेस नेता बीपी कोइरालाको निधनको समाचार देवेन्द्रमानले नै संसारलाई सबैभन्दा पहिले सुनाउनुभएको थियो । त्यो बेला उहाँ बीबीसीका लागि काम गर्नुहुन्थ्यो । नेपाली मिडियाले प्रकाशन गर्न नभ्याउँदै बीपीको निधनबारे समाचार बीबीसीले प्रसारण गरेको थियो । राजधानीवासीका लागि बीपी बितेको बीबीसी खबर ‘ब्रेकिङ न्युज’ बनेको थियो । देवेन्द्रमान सिंह अहिले श्रीमती राजेश्वरी श्रेष्ठका साथ काठमाडौंमै बस्नुहुन्छ । उहाँका एक मात्र सन्तान विजेन्द्रमान सिंह अमेरिकामा बस्नुहुन्छ ।

फोटो पत्रकारिताले नेपालमा महत्त्वपूर्ण स्थान बनाएकोमा सन्तुष्ट देवेन्द्रमान अधिकांश नेपाली फोटो पत्रकारले पाइरहेको सेवा–सुविधाप्रति भने सन्तुष्ट हुनुहुन्न । फोटो पत्रकारले न्यायोचित सेवासुविधा पाउनुपर्ने उहाँको भनाइ छ । उहाँ फोटो पत्रकारलाई पनि मल्टिटास्किङ हुन सुझाउनुहुन्छ ।