काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) २८ वर्ष पूरा गरी २९ औँ वर्षमा प्रवेश गरेको छ। एनएफपिजेले आफ्नो स्थापना दिवसको अवसरमा केन्द्रीय कार्यालयमा उपस्थित केक काटेर मनाएको हो ।
कार्यक्रममा भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान घुमाएकाहरुलाई स्मरण गर्दै १ मिनेट मौनधारण समेत गरिएको थियो।
कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष राजेन्द्र चित्रकार, केन्द्रीय अध्यक्ष प्रदीपराज वन्त लगायत केन्द्रिय पदाधिकारी, आजीवन सदस्य तथा अन्य सदस्यहरुको उपस्थिति थियो।
वि.सं. २०५३ साल असोज ६ गते स्थापित यस समूहमा हाल देशभरका पाँच सयभन्दा बढी फोटो पत्रकारहरू आबद्ध रहेका छन्। संस्थाले आफ्नो स्थापनाकालदेखि नै फोटो पत्रकारिताको विकास, प्रवद्र्धन र पेशागत हकहितका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
स्थापना दिवसका अवसरमा जारी विज्ञप्तिमा समूहले सल्लाहकार, आजीवन सदस्य, सदस्य, शुभचिन्तक तथा सहयोगी महानुभावहरूलाई धन्यवाद ज्ञापन गरेको छ। त्यस्तै विगतका कार्यसमितिहरूले निर्वाह गरेको योगदानलाई कृतज्ञतापूर्वक सम्झना गरेको छ ।
समूहले सूचना प्रविधिको द्रुतगति विकाससँगै दर्शक–पाठकको अभिरुचिमा आएका परिवर्तनलाई फोटो पत्रकारिताका लागि चुनौतीसँगै अवसरका रूपमा लिएको जनाएको छ। दक्षता, ज्ञान र सीपको निरन्तर परिष्कारद्वारा मात्र फोटो पत्रकारिता अझ सबल र प्रभावकारी बन्ने विश्वास समूहले व्यक्त गरेको छ।
एनएफपिजेले सदस्यहरूको सक्रिय सहभागिता, शुभचिन्तकहरूको साथ–सहयोग, सरसल्लाह, सुझाव, स्वस्थ आलोचना र खबरदारीले संगठनलाई अझ प्रतिबद्ध र परिपक्व बनाई अघि बढ्ने प्रतिबद्धता जनाएको छ।