सकियो इन्द्रजात्रा विशेष फोटो प्रदर्शनी

Oct 12, 2025

काठमाडौं – अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले आयोजना गरेको तीन दिने ‘इन्द्रजात्रा विशेष फोटो प्रदर्शनी’ ऐतिहासिक हनुमानढोका दरबार क्षेत्रमा सम्पन्न भएको छ।

काठमाडौँ महानगरपालिकाको सहयोग तथा नेपाल आर्ट काउन्सिल र नेपाल पर्यटन बोर्डको संयोजनमा गरिएको प्रदर्शनी ‘मेड इन काठमाडौं फेस्ट २०८२’ अन्तर्गत सञ्चालन गरिएको हो। उक्त प्रदर्शनीको उद्घाटन उपमेयर सुनिता डंगोलले गरेकी थिइन्।

जेनजी आन्दोलनका कारण स्थगित गरिएको प्रदर्शनी असोज ९ गते पुनः शुभारम्भ गरिएको थियो। प्रदर्शनीको औपचारिक उद्घाटन पूर्वकुमारी मनिता शाक्य, राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्त, पूर्व गणेश र भैरवहरूले संयुक्त रूपमा गरेका थिए। प्रदर्शनी असोज ११ गते अन्तर्राष्ट्रिय पर्यटन दिवसकै दिन समापन गरिएको हो।

कार्यक्रममा समूहका सदस्यहरूले इन्द्रजात्रासँग सम्बन्धित विविध गतिविधिहरू क्यामेरामा उतारेका आकर्षक तस्वीरहरू प्रदर्शित गरिएको थियो। लाखे नाचको जोश, साँघुरा गल्लीमा गुन्जिने धुन, डबलीमा उमङ्गित भीडदेखि देवी–देवताका अनुष्ठानसम्मका क्षणहरूले प्रदर्शनीमा काठमाडौंको सांस्कृतिक र ऐतिहासिक जीवन्तता झल्किएको थियो।

प्रदर्शनीमा विभिन्न संघ–संस्था, कला–संस्कृति प्रेमी, पर्यटक र विदेशी दर्शकहरूको उल्लेख्य सहभागिता रह्यो। एनएफपिजेले इन्द्रजात्रा जस्तो सांस्कृतिक उत्सवलाई फोटोग्राफीमार्फत पर्यटन प्रवर्द्धनसँग जोड्दै काठमाडौंलाई ‘जीवित सम्पदाको शहर’का रूपमा प्रस्तुत गर्न खोजेको जनाएको छ।