राष्ट्रिय फोटो पत्रकार समूहद्वारा भित्तेपात्रो विमोचन, ३ लाखको अक्षय कोष स्थापना

Apr 26, 2026

काठमाडौँ — राष्ट्रिय फोटो पत्रकार समूह नेपालले २०८३ सालको भित्तेपात्रो विमोचन गरेको छ। आइतबार काठमाडौँस्थित नेपाल पर्यटन बोर्डमा ९९औँ राष्ट्रिय फोटोपत्रकारिता दिवस २०८३ का अवसरमा च प्रमुख अतिथि सूचना तथा प्रसारण विभागका महानिर्देशक छविन्द्र पराजुली, विशेष अतिथि प्रेस काउन्सिल नेपालका सह–प्रवक्ता रामशरण बोहरा तथा पूर्व अध्यक्षहरू लगायतको उपस्थितिमा भित्तेपात्रो सार्वजनिक गरिएको हो।

कार्यक्रमको विशेष आकर्षणस्वरूप स्वर्गीय चुङ्बा शेर्पाको स्मृतिमा ३ लाख रुपैयाँ बराबरको अक्षय कोष स्थापना गरिएको छ। उनकी छोरी क्याप्टेन बन्दा शेर्पा र छोरा छेवाङ शेर्पाको उपस्थितिमा “वाइल्डलाइफ फोटो पत्रकारिता पुरस्कार” समेत घोषणा गरिएको छ।

प्रमुख अतिथि पराजुलीले नेपाललाई विश्वसामु चिनाउन फोटो पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै प्राकृतिक सौन्दर्यका तस्वीरहरूले देशको पहिचान र अर्थतन्त्र दुवैमा योगदान पुर्‍याउन सक्ने बताए। उनले फोटो अभिलेखलाई व्यवस्थित गर्दै “फोटो बैंक” का रूपमा विकास गर्नुपर्नेमा जोड दिए।

यसैबीच राष्ट्रिय फोटो पत्रकार समूह नेपाल का अध्यक्ष प्रदीपराज वन्तले डिजिटल युगअनुसार फोटो पत्रकारितामा नवीन शैली अपनाउनुपर्ने आवश्यकता औंल्याए। उनले आगामी वर्ष १०० अन्तर्राष्ट्रिय फोटो पत्रकारलाई नेपालमा आमन्त्रण गरी सम्मेलन गर्ने तयारी भइरहेको जानकारी पनि दिए।

त्यस्तै पूर्व अध्यक्ष राजभाइ सुवालले पर्यटन प्रवर्द्धनमा फोटो पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै ड्रोन फोटोग्राफी र आर्टिफिसियल इन्टेलिजेन्स (AI) जस्ता नयाँ प्रविधिमा दक्षता बढाउनुपर्ने बताए।

कार्यक्रममा पूर्व अध्यक्ष कविन्द्रमान शाक्य, काठमाडौँ फोटोग्राफर संघका अध्यक्ष आनन्द प्रभाकर घिमिरे लगायत फोटो पत्रकारहरूको उपस्थिति रहेको थियो।

फोटो : अजय लेन्सम्यान