काठमाडौँ, २४ कात्तिक : राष्ट्रिय फोटो पत्रकार समूह नेपालद्वारा आज आयोजित २७ औँ वार्षिक साधारणसभा तथा १३औँ केन्द्रीय अधिवेशन कार्यक्रम खानेपानीमन्त्री प्रदीप यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
मन्त्रीले उक्त कार्यक्रममा समाजमा सकारात्मक प्रेरणाका स्रोत फोटो पत्रकार भएका बताउनुभयो । मा उहाँले फोटोबिना अधिकांश समाचार अधुरा हुने भएकाले समाजमा फोटो पत्रकारको महत्तव उल्लेखनीय भएको बताउनुभयो ।
यसैगरी, मन्त्री यादवले फोटो पत्रकारहरूलाई आवश्यक पर्ने स्रोतसाधन खरिददेखि उनीहरूको जोखिम बढी हुने भएकाले सरकारले नै फोटो पत्रकारको बीमाको व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “समाचार सङ्कलनका क्रममा सबैभन्दा बढी फोटो पत्रकार जोखिममा पर्ने गरेका छन्, तपाईहरूको बीमा सरकारले गरिदिनुपर्छ, त्यसका लागि मैले के सहयोग गर्छु ।”
नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले समाजको फोटो पत्रकारको ठूलो महत्त्व रहेकाले फोटोग्राफी मात्रै नभएर फोटो पत्रकार हुनु आवश्यक रहेको बताउनुभयो । अहिलेको नयाँ प्रविधिले समाजका केही गर्नलाई फोटो पत्रकारिताको माग बढाएको समेत उहाँले बताउनुभयो ।
राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकाररिता आफैँमा जोखिमयुक्त पेसा भए पनि आफूहरूले समाजमा सकारात्मक रुपमा काम गरिरहेको बताउनुभयो । राष्ट्रिय फोटो पत्रकार समूह नेपालमा देशभरिमा कम्तीमा पनि पाँच सयजना फोटो पत्रकार आबद्ध रहेको जानकारी दिइएको थियो ।
कार्यक्रममा सञ्चारिका समूह नेपाल अध्यक्ष लगायतका विभिन्न व्यक्तिले शुभकामना प्रदान गर्नुभएको थियो । उक्त कार्यक्रममा ‘हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मान’ फोटो पत्रकार गणेश बिष्ट, ‘साहसिक फोटो पत्रकारिता सम्मान’ सुजन बज्राचार्य, ‘पर्या–पर्यटन फोटोपत्रकारिता सम्मान’ प्रविन श्रेष्ठ, ‘मनोरञ्जन फोटोपत्रकारिता सम्मान’ लेखबहादुर श्रेष्ठ र ‘खेलकुद फोटो पत्रकारिता सम्मान’ सरोज नेपाललाई प्रदान गरिएको थियो । यसैगरी ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार २०८१’ बाट सिविन नेपालकी फोटोपत्रकार रमिता छुँजु, ‘संस्थागत एनएफपिजे प्रेसिडेण्ट अवार्ड २०८१’ बाट कार्यवहाक महासचिव घनश्याम श्रेष्ठ र ‘उत्कृष्ट जिल्ला शाखा पुरस्कार’ रामेछाप शाखालाई प्रदान गरियो ।
तस्वीरहरू: उद्धव बोगटी